काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो ।
प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।
इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे ।
नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो । प्रतिनिधिसभामा पहिले इन्दिरा रानामगरलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा उनी सभामुखमा निर्वाचित भएकाले कांग्रेसको प्रस्तावमाथि छलफल नै भएन ।
उपसभामुख इन्दिरा झापाकी हुन्। ५२ वर्षकी उनलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो।
पछिल्लो समय उनी राजनितीमा पनि सक्रिय छिन् । उनले रास्वपा मार्फत राजनितीमा प्रवेश गरेकी थिईन ।
बिबिसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा
उनी बालअधिकार तथा समाजसेवाका क्षेत्रमा सक्रिय थिइन्। उनी बिबिसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन्।
वि।सं। २०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिराले समाजसेवा बापत सन् २००५ मा नै उत्कृष्ट अवार्ड अशोक फेलो जितेकी थिइन्।
उनले जेलमा बन्दि रहेका बालबालिकालाई हेरचाह गर्छिन । काठमाडौं, झापा, पाल्पा र भक्तपुरमा बाल आवासगृह मार्फत सेवा दिइरहेकी छन् ।
काठमाडौ नयाँबजार स्थित बाल आवासगृहमा २८, साँखुमा ८६ र झापा, पाल्पा र भक्तपुरमा कर्मचारी मार्फत बालबालिकालाई हेरचाह गर्छिन् ।
बालबालिकालाई जिम्मेवार बनाउन र पारिवारिक माहोल सिर्जना गर्न थोरै कर्मचारी मार्फत हेरचाह गरेको इन्दिरा बताउँछिन्।
बन्दि बालबच्चाकी कर्मआमा
उनले ठूला नानीहरूलाई आफ्नो खुट्टामा उभिन सजिलो होस् भनेर पेन्टिङ, सिलाई–बुनाई, कृषि जस्ता आयमूलक काम पनि सिकाउने गरेकी छन्। इन्दिराले करागारका वयस्क बन्दीहरूलाई पनि सहयोग गरिरहेकी छन्। सरकारले एक शिक्षक दिएको काठमाडौंको महिला कारागारभित्रको प्राथमिक विद्यालयमा इन्दिराले तीन शिक्षकको व्यवस्था गरेकी छन्।
बाबुआमाको अपराध प्रमाणित भएपछि कारागार पुगेका निर्दोष बालबालिकाको अभिभावकत्व लिएर सीएनएन हिरो बनेकी पुष्पा बस्नेत पनि शुरुमा इन्दिराकै संस्था पिए, नेपालमा स्वयंसेवक थिइन्। उनले इन्दिराकै रोहबरमा कारागारबाट तीन जना नानी लगेर प्रारम्भिक बाल विकास केन्द्र आरम्भ गरेकी हुन्।
इन्दिरा आफैंले जन्माएकी एक छोरी मात्र भए पनि उनी अहिले साथमा रहेका १३ महीने अर्जुनदेखि बालबच्चा भइसकेका सयौंको ’आमा’ बनेकी छन्। यी सबैले आमा भनेर बोलाउँदा उनलाई संसार जितेको अनुभूति हुन्छ। अभावपूर्ण बाल्यकाल बिताएकी इन्दिरा ११ वर्षमा एकैचोटि पाँच कक्षामा भर्ना भएकी थिइन्। २०५३ मा स्नातक गरेर समाजसेवामा लागेकी हुन ।