
काठमाडौं । केपी ओली गोल्डकप फुटबल फागुनमा आयोजना गरिने भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल फागुन ११ देखि १७ गतेसम्म सञ्चालन हुने एमालेको भातृ संगठन युवा संघ नेपालले जनाएको छ ।
काठमाडौं स्थित दशरथ रंगशालामा हुने भनिएको प्रतियोगिता एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलका गोल्डकपको समय निर्धारण गर्दा केपी ओली कप पनि समावेश गरिएको छ ।
युवा संघको मागअनुसार आफूहरुले प्रतियोगिताका लागि मिति उपलब्ध गराएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
युवा संघका अध्यक्ष किरण पौडेलका अनुसार प्रतियोगितामा ए डिभिजनका ८ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताका खेलहरु च्यासललगायतका मैदानमा सन्चालन गरिनेछ । फाइनल खेल दशरथ रंगशालामै खेलाउने योजना अध्यक्ष पौडेलले सुनाए ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइनेछ ।