रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा सरकारी कर्मचारीद्वारा आत्मदाह प्रयास

बाँके । नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एकजनाले आत्मदाह प्रयास गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन् ।

जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको छ ।

जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले एक पुरुषले आत्मदाहको प्रयास गरेको जानकारी दिइन् ।

‘उहाँले रवि लामिछानेलाई गृह मन्त्री नबनाएको भन्दै आफ्नो शरीरमा आगो लगाउनु प्रयास गर्नुभएको रहेछ। तर, लाइटर बलेन,’ सहायक प्रमुख जिल्लाअधिकारी रिजालले भनिन् ।

उनका अनुसार उक्त पुरुषले आफ्नो पूरै शरीरमा पेट्रोल झर्केका थिए । तर, आगो लगाउन खोज्दा लाइटर नबलेकाले जल्न पाएन ।

बाँकेको कोहलपुर नगरपालिका-११ स्थायी घर भएका कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालकका रुपमा कार्यरत थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१