
काठमाडाैं । पार्टी बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेलाई प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ ।
लामिछानेले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखेका थिए भने प्रचण्डले गृहको विकल्प रोज्न आग्रह गरेकाे स्राेतले बताएकाे छ ।
प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।
नागरिकता प्रकरणमा सांसद र गृह मन्त्री गुमाएका लामिछाने फेरि गृहमै फर्किन चाहेका छन् । तर प्रचण्डले भने गृह दिन चाहेका छैनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धरामा बस्न लागेकाे छ । उक्त बैठकपछि आफूले विशेष पत्रकार सम्मेलन गर्ने लामिछानेले सामाजिक सञ्जालमार्फत बताएका छन् ।