सर्वाेच्चकाे प्रश्न : कांग्रेसलाई विपक्षी दलको नेता बनाउनुको कारण के हाे ?

काठमाडाैं । सर्वोच्च अदालतले नेपाली कांग्रेसलाई विपक्षी दलको नेता बनाउनुको कारण सोधेको छ ।

अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ ।

साथै, मुद्दाका दुवै पक्षलाई बहसका लागि बोलाएको छ । दुवै पक्षको छलफलपछि यो विषयमा रिट निवेदकले मागे अनुसारको अन्तरिम आदेश दिने वा नदिनेबारे आदेश गर्नेछ ।

अधिवक्ता विमल पोखरेलले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले विपक्षी दलको हैसियत गुमाएको जिकिर गर्दै रिट दिएका थिए ।

रिटमा कांग्रेस संसदीय दलका नेता वा विश्वासको मत दिएका अन्य दलका नेतालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुन रोक लगाउनसमेत माग गरिएको छ ।