माओवादी केन्द्रको निर्णय : एक पद एक कार्यकारी जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले एक पद एक कार्यकारी जिम्मेवारीको नीति अवलम्बन गर्ने भएको छ ।

माओवादी केन्द्रको यही माघ १२ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बसेको स्थायी समितिको बैठकले एक पद एक कार्यकारी जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रको पार्टी कार्यालय सचिव श्रीराम खनालका अनुसार यो निर्णय केन्द्रदेखि वडातहसम्मै लागू गर्ने पार्टीको निर्णय छ ।

केन्द्रमा पनि विभिन्न विभागहरुमा जिम्मेवारी तोक्न बाँकी रहेकाले एक पद एक कार्यकारी जिम्मेवारीको नीति अनुसार नै तोक्ने, प्रदेश, जिल्ला, स्थानीय तहमा पनि यही नीति लागू हुने पार्टी कार्यालयका सचिव खनालले जानकारी दिए ।

प्रदेश समन्वय समितिको बैठक राखी सबै केन्द्रीय सदस्य र प्रदेश सदस्यसहित सबै कमरेडहरुको जिम्मेवारी तोक्दा एक पद एक कार्यकारी जिम्मेवारीको नीति अनुसार जिम्मेवारी तोक्ने पार्टीले पठाएको सर्कुलरमा उल्लेख छ ।

माओवादी केन्द्रले पार्टीको प्रदेश समन्वय समितिको बैठक फागुन ५ गतेसम्म सक्ने गरी समयसमेत तोकेको छ ।

प्रदेश नं. १ र बागमती प्रदेश माघ २७ गते, मधेश प्रदेश माघ २८ गते, गण्डकी प्रदेश माघ २९ गते, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ३ गते बैठक गर्ने निर्णय गरिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१