स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुन सक्ने बताएका छन् ।

नयाँ राष्ट्रपतिको विषयलाई लिएर प्रमुख दलहरू, कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तीव्र छलफल चलिरहेका बेला प्रचण्डले यस्ताे बताएका हुन् ।

राष्ट्रपति चुनावमा निर्णायक मत रहेको माओवादीका अध्यक्षले पार्टी बैठकमा बिहीबार गरेको ब्रिफिङले राष्ट्रपति चुनाव पेचिलो हुने स्पष्ट संकेत गरेको छ ।

बिहीबार पार्टीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा राजनीतिमा सक्रिय व्यक्ति राष्ट्रपति हुँदा दुई तीनपटक दुःख पाइएको बताएका थिए ।

दलहरूको नामै लिएर प्रचण्डले कांग्रेस, एमाले, माओवादी वा अन्य दलबाट पनि राष्ट्रपति बन्न सक्ने बताएका थिए ।

प्रचण्डले पार्टी बैठकमा टुटफुट भएका कम्युनिष्ट पार्टीलाई ध्रुवीकरण गरिने पनि बताएका छन् । उनले सबै कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको बैठकमा ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुनावपछि सरकारले लोकप्रिय कार्यक्रम ल्याउने पनि बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१