काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरू भएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्षसमेत रहेका संयन्त्रका संयोजक केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सत्ता साझेदार दलका शीर्ष नेता बैठकमा सहभागी छन्।
प्रधानमन्त्रीको सचिवालयले बैठक जारी रहेको जानकारी दिएको छ।
रवि लामिछाने नेतृत्वमा रहेको रास्वपाले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको, सुदूरपश्चिममा सत्ता गठबन्धन समर्थनमा बनेको नेकपा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिका बीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाइएको छ।
यसैबीच राष्ट्रपति निर्वाचनका सन्दर्भमा पनि आज छलफल हुन सक्ने देखिएको छ।
फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ। प्रधानमन्त्री दाहाल र उनी अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताइरहेका छन्।
तर सत्ता साझेदार दल नेकपा एमालेले गत पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेको छ।
तर पुस २६ मा प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो। यो परिस्थितिसँगै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने तर्क माओवादीले गर्दै आएको छ।