• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गगन, विश्वप्रकाश र कांग्रेस प्रवक्तालाई मिनेन्द्रकाे प्रश्न: ‘जनयुद्ध दिवस’बारे कांग्रेसको धारणा अहिले कि राष्ट्रपति निर्वाचनपछि ?

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले फागुन १ लाई ‘जनयुद्ध दिवस’ को रुपमा मनाउने सरकारको निर्णयबारे पार्टी मौन रहेकोमा प्रश्न गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र प्रवक्ता प्रकाशशरण महतलाई ट्विटरमा मेन्सन गरी रिजालले यसबारे धारणा राष्ट्रपति निर्वाचनपछि कि अहिले आउँछ भनी प्रश्न गरेका छन् ।

‘एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले बृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’ बारे हाम्रो दल नेपाली कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचनपछि ?’

सरकारले आइतबार बिदा दिने निर्णय गरेपछि माओवादी इत्तर कित्ताबाट उक्त निर्णयको विरोध भइरहेको छ। कांग्रेस नेता शेखर कोइरालाले पनि विरोध गरेका छन् ।

सत्तारुढ दल एमालेकै नेताहरुले पनि सरकारको उक्त निर्णयको विरोध गरिरहेका छन् । तर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले भने जनयुद्धकाे औचित्य पुष्टी गर्नका लागि सार्वजनिक बिदा आवश्यक रहेकाे प्रतिक्रिया दिएका छन् ।