
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालाजु र गोंगबु क्षेत्रमा दुई दिनअघि भएको लुटपाटबारे संसदमा कुरा उठाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसबारे कुरा उठाएका हुन् ।
‘संसारका अरु देशमा देखिएको लुटपाटको दृश्य गोंगबुमा देखियो । यदि सकरार छ भने दिनदहाडै लुटपाट हुन्छ । करोडौ लगानी गरेका व्यवसायी किन डुब्दैछन् ?’, उनले भने, ‘यदि यो देशमा सरकार छ भने प्रहरीलाई निकम्मा बनाउने को हो ?’
उनले गृहमन्त्रालय पनि आफैंले राख्ने हो भने सबै मन्त्रालय प्रधानमन्त्रीलाई दिए हुने बताए । ‘अब सबै मन्त्रालय प्रधानमन्त्रीलाई नै दिए हुन्छ’, उनले भने, ‘गृहमन्त्रालयको संरचना छ तर गृहमन्त्री किन खाली राखिएको छ? प्रधानमन्त्रीले नै सबै चलाउने हो भने अरुको के काम?’
उनले देशको शान्ति सुरक्षा कायम गर्नका लागि तत्काल गृहमन्त्री नियुक्त गर्न माग पनि गरे ।