
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा एक जना पनि मन्त्री नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा सांसद पूर्णबहादुर घर्तीले बोलिरहेका बेला प्रतिनिधि सभाको बैठकमा मन्त्री नभएकोप्रति ध्यानाकर्षण गराए ।
उनले भने– ‘संसद् चलेको बेलामा मन्त्री हुनुपर्नेमा यहाँ एक जना पनि मन्त्री हुनुहुन्न ।’
सभामुख घिमिरेले राज्यमन्त्री रहेको बताउँदै राज्यमन्त्रीले पनि मन्त्रीमण्डलको उपस्थिति जनाएको बताएर श्रेष्ठलाई बस्न आग्रह गरे ।
सांसद श्रेष्ठले राज्यमन्त्रीप्रति आफ्नो आपत्ति नरहेको बताउँदै भने– ‘संसद्मा मन्त्री भएन भने सरकार कसरी संसदप्रति जवाफदेही हुन्छ ?’
सभामुखले बाहिर जानुपर्ने काम भएकोले गएको हुनसक्ने भन्दै पछि मन्त्री आउन सक्ने जवाफ दिए ।
बुधवारको बैठकमा राप्रपाका सांसद एवं उर्जाराज्यमन्त्री दीपकबहादुर सिंह मात्र उपस्थित रहेका छन् ।