
काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिवका अगाडि नेपालका नेताहरू लम्पसार परेको टिप्पणी गरेका छन् । राष्ट्रपति निर्वाचन प्रभावित गर्न भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएको उनले दाबी गरे ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा केसीले नेपालका नेता र मन्त्रीले भारतमा उच्च तहका नेतासँग भेटघाटै नपाउने भए पनि नेपालका नेताहरू भारतीय कर्मचारीसामु लम्पसार परेको आरोप लगाए ।
‘हालै भारतका परराष्ट्रका कर्मचारीको नेपाल आगमन भयो, राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत विभिन्न मान्छेको बीचमा भेटघाटको अभियान चलाउनुभयो । नेपालबाट मन्त्री र नेता जाँदा भेट्नै सक्दैनन् र निराश भएर फर्किनुपर्छ तर छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख र देशको स्वाभिमान बिर्सेर विदेशीको अगाडि लम्पसार परेका छन् ।’
केसीले भने, ‘नेपालमा अहिले चर्चाको विषय राष्ट्रपति कसलाई बनाउने भन्ने प्रश्न चलिरहेको समयमा त्यसै सिलसिलामा शक्तिराष्ट्रले राष्ट्रपतिको चुनावमा हस्तक्षेप गर्न खोजेको छ । प्रत्यक्ष रूपले आफ्नो देशको अनुकूलको मान्छे बनाउने खेल खेलिरहेको छ ।’
अध्यक्ष केसीले नेपालको राष्ट्रियता र सार्वभौमिकता अप्ठ्यारोमा परेकोप्रति नेताहरू गैरजिम्मेवार बनेका बताए । ‘हामीलाई लाज लाग्दैन, लम्पसार परेर उनीहरूको आशिर्वादबाट दुनो सोझ्याउने काम गरेका छौं,’ केसीले भने ।