
काठमाडाैं । मुलुकको तेस्रो राष्ट्रपति को होला भन्ने आमचासो सर्वत्र छ । फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयनसंगै केही जिज्ञासा मत्थर हुनेछन् । मु्ख्यतः नेपाली कांग्रेस र नेकपा एमालेले आ–आफनो उम्मेदवार नै राष्ट्रपति हुने दाबी गरिरहेका छन् ।
राष्ट्रपति निर्वाचनमा पनि निर्णायक मानिएको नेकपा माओवादी केन्द्र भने राष्ट्रिय सहमतिको पक्षमा छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति देशकै अभिभावक भएकाले सहमतिका आधारमा राष्ट्रपतिको चयन गर्नुपर्ने पक्षमा छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल सुदिपका अनुसार प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेका व्यक्ति नै राष्ट्रपति हुनेछन् । एमाले र कांग्रेसले अहिलेसम्म उम्मेदवार सार्वजनिक नगर्नुको कारण सहमति निर्माणको प्रयास हुनसक्ने उनको विश्लेषण छ ।
सत्ता गठवन्धनमा आबद्ध दलहरुबीच सामान्य मतान्तर हुनु सामान्य भएको बताउँदै मल्ल भन्छन्, ‘ गठबन्धन नै टुट्ने कुनै पनि विवाद छैन । एमाले लगायतका दलहरुसंग प्रगाढ सम्बन्ध छ ।’
जहाँसम्म नागरिक उन्मुक्ति पार्टीको शर्त छ त्यो कानुनी निरुपणको विषय भएकाले दलहरुले यसमा बोल्नु उपयुक्त नहुने उनी बताउँछन् ।
रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी राष्ट्रपति चुनावपछि सरकारमा सहभागि हुने मल्लको दाबी छ । लामिछानेले आफू नभइ अरु सांसदहरुलाई मन्त्रीमा पठाउनुपर्छ । लामिछानेले उपनिर्वाचनमा ध्यान दिनु उपयुक्त हुनेछ ।
हालै नेपाल आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र प्रधानमन्त्रीबीच सौहार्दपूर्ण कुराकानी भएको र यसले दुई देशीय सम्बन्धलाई थप मजबुत बनाएको मल्ल बताउँछन् । राष्ट्रपति निर्वाचनअघि प्रधानमन्त्रीले कुनैपनि देशको भ्रमण नगर्ने जानकारी दिँदै उनले उपयुक्त समयमा प्रधानमन्त्रीले भारतसहितका देशहरुको भ्रमण गर्ने बताए ।
अमेरिकाको डेमोक्रेसी समिटमा भाग लिने कुरालाई एमसीसी वा चीन विरुद्धका गतिविधिका रुपमा प्रचार भैरहेकोमा उनले आपत्ति जनाए । प्रधानमन्त्री दाहाल देश र जनताप्रति पूर्ण उत्तरदायि र जिम्मेवार भएकाले कसैले पनि शंका गर्न आवश्यक नरहेको उनको भनाइ छ ।
बिस्तृत भिडिओमा :