दार्चुलाको व्याँसमा दुईओटा झोलुंगे पुलको उद्घाटन

दार्चुला । नेपाल सरकारको तुइनमुक्त कार्यक्रम अन्तर्गत दार्चुलाको व्याँसमा निर्माण भएका दुईओटा झोलुंगे पुलको बिहीबार उद्घाटन गरिएको छ ।

महाकाली नदीमा बनाइएको झोलुंगे पुलको उद्घाटन गरिएको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले जानकारी दिए ।

व्याँस गाउँपालिकाको वडा ४ मा स्थित मलघट्टे पुल र वडा नं २ स्थित माल झोलुंगे पुलको उद्घाटन गरिएको उपाध्यक्ष कुँवरले बताए ।

केही महिना अघि निर्माण सम्पन्न गरिएका पुलहरुको नेपाल र भारतका अधिकारीहरुले संयुक्त रुपमा उद्दघाटन गरेका हुन् । पुल उद्दघाटन भएसँगै दुवै देशका नागरिकलाई आवतजावतमा सहज हुने उपाध्यक्ष कुँवरले बताए ।

पुल उद्घाटन कार्यक्रममा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुँवरसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यस्तै, भारतका तर्फबाट पिथौरागढ जिल्लाका डिएम रीना जोशी लगायतको सहभागिता रहेको थियो । आज उद्घाटन गरिएका २ वटा पुलमा नेपाल प्रहरी र शशस्त्र प्रहरीलाई खटाउने जिल्ला प्रशासन कार्यालय दार्चुलाले निर्णय गरिसकेको छ ।

गत साता बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुन्सेरा जोड्ने मलघट्टे पुलमा नेपाल प्रहरी र मालगाउँ जोड्ने पुलमा सशस्त्र प्रहरीलाई तत्काल पुलको सुरक्षा एवं सञ्चालनमा खटाउने निर्णय गरेको थियो ।