अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनमा, पोल्यान्डसँगको सीमाबाट रेल चढेर गएका थिए

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुगेका छन् । रुसी आक्रमणको वर्ष दिन पुग्न लाग्दा बाइडेन किभ पुगेकाे बीबीसीले जनाएको छ ।

रुसको आक्रमणपछि पहिलो पटक युक्रेन पुगेका बाइडेनले युक्रेनी राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा बाइडेनसँग हात मिलाएकाे गरेको तस्बिर सार्वजनिक गरेका छन् । उनले बाइडेनको यात्रा सम्पूर्ण युक्रेनीहरूका लागि एक अत्यन्त महत्त्वपूर्ण सङ्केत भएको उल्लेख पनि गरेका छन् ।

जेलेन्स्कीसँगको भेटपछि बाइडेनले युक्रेनलाई अमेरिकी समर्थन निरन्तर उपलब्ध गराइने बताएकाे बीबीसीले जनाएको छ । सैन्य अनुभवका बाबजुद पनि युक्रेनी नागरिकले साहसपूर्वक लडेको भन्दै बाइडेनले प्रशंसा पनि गरेका छन् ।

बाइडेन पोल्यान्डसँगको सीमाबाट रेल चढेर युक्रेन पुगेकाे न्युयोर्क टाइम्सले जनाएको छ । सुरक्षा चासोहरूलाई ध्यानमा राख्दै बाइडेनको भ्रमण गोप्य राखिएको थियो । शनिबार राति श्रीमतीसहित एउटा रेस्टुरेन्टमा खाना खाएपछि बाइडेन बिना सूचना वाशिङ्टनबाट बाहिरिएका थिए ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेको यही फेब्रुअरी २४ मा एक वर्ष पूरा हुनेछ । तर अझै पनि युद्ध सकिने सङ्केत देखिएकाे छैन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१