काठमाडाैं । भारतको झुलाघाटमा नेपाल–भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक बसेकाे छ । बैठकमा सीमा क्षेत्रमा भइरहेको अपराध, तस्करीलगायतका कार्यहरु नियन्त्रण गर्न एक अर्काबीच समन्वय र सहयोग आदानप्रदान गर्ने निर्णय भएकाे छ ।
पिथौरागढको झुलाघाटस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा आयोजित बैठकमा सीमा सुरक्षा र तस्करी नियन्त्रण लगायतमा दुबै देशका अधिकारी मिलेर जाने निर्णय भएको हो । दुबै देशका अधिकारीहरुले नेपाल–भारत बीच अनाधिकृत रुपमा प्रयोग भइरहेका मार्गमा रोक लगाउने कुरामा विशेष जोड दिएका छन् ।
५५ औँ बाहिनीका कमाण्डेन्ट एसके शर्माको अध्यक्षतामा भएको सो बैठकमा सीमा क्षेत्रमा हुने अपराधिक घटनाको सूचना आदान–प्रदान गर्ने, झुलापुल बाहेक अन्य अनधिकृत बाटोबाट हुने आवागमनमा रोक लगाउने र मानव तस्करी नियन्त्रण गर्नेमा दुबै देशका अधिकारी सहमत भएका छन् ।
महाकाली नदीमा ट्युवबाट पनि अनधिकृत रुपमा आवतजावत हुने भइरहेकाले यस्तो आवतजावत रोक्ने बिषयमा छलफल भएको छ ।
बैठकमा बैतडीका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक लालबहादुर नेगी, नेपाल प्रहरीका प्रहरी निरीक्षक लोकराज जोशी, प्रहरी चौकी जुलाघाटका सई योगेशबहादुर पाल, सशस्त्र प्रहरीका सई रघुनाथ जोशी सहभागि थिए । भारतको तर्फबाट भने झुलाघाट प्रहरी थानाका निरीक्षक पीसी जोशी, भन्सार निरीक्षक शिबेन्द्र पाण्डे, आईबीका प्रशांत कुमार, धर्मेन्द्र कुमार, जी कम्पनीका निरीक्षक रणवीर सिंह, सूचना निरीक्षक गणेश सिंहलगायत सहभागि थिए ।
सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुले बेलाबेलामा यस्ता खालका बैठकहरुको आयोजना गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका बिषयमा दुवै देशका अधिकारीहरुले बेलाबेलामा यस्ता बैठकहरुको आयोजना गर्ने गरिएको उनले बताए ।