पिएनजीले दियाे नेपाललाई २०४ रनको लक्ष्य

काठमाडाैं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन जोड्यो ।

पिएनजीका लागि चाड सोपरले नटआउट ३६ रन जोडे । उनले ५३ बलमा २ चौका प्रहार गरे । कप्तान असद भालाले ५३ बल खेलेर ३६ रन जोडे । ४ चौका प्रहार गरेका उनलाई कुशल मल्लले आउट गरेका थिए ।

विकेटकिपर ब्याट्सम्यान किपलिन डोरिगाले २९ रन र सेसे बाउले ३१ रन बनाए । नोर्मान भानुआले २५ रन बनाए ।

बलिङमा नेपालका गुल्शन झाले ३ विकेट लिए । उनले ९ ओभरमा २८ रन खर्चिए । कुशल मल्लले २ विकेट लिँदा डेब्यू खेलाडी प्रतिश जिसीले १ विकेट हात पारे । करण केसी र सोमपाल कामीले १-१ विकेट लिन सफल भए ।

आजबाट नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज सुरु भएको हो । अब लिग-२ मा सहभागी ७ मध्ये नेपाल, युएई र पिएनजीले अन्तिम दुई त्रिकोणात्मक सिरिज खेल्न बाँकी छ ।

-तस्बिर : क्यान 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१