
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री एनपी साउदले नयाँ गठवन्धनसँगै मुलुकको राजनीति सही ट्रयाकमा आएको र यसले राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन् ।
हुलाक सञ्चारसँग कुरा गर्दै नेता साउदले संसदको सबैभन्दा ठूलो दललाई बाहिर राख्ने षडयन्त्र नै एमालेका लागि घातक भएको बताए । कांग्रेस नेतृत्वको आठ दलीय गठवन्धनले राष्ट्रपतिको निर्वाचनसँगै नयाँ सरकार बनाउने र मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउने उनको भनाइ छ ।
सरकारको नेतृत्वमा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आलोपालोको समझदारी भएको जानकारी उनले दिए ।
साउद भन्छन्, ‘ओलीले प्रचण्डलाई छायामा राखेर आफूमात्रै सर्वेसर्वा हुन खोेज्दा यो अवस्था आएको हो । एमालेको सत्तालिप्सा, अवसरवाद र राज्यसत्ता कब्जा गर्ने सोच नै हानिकारक थियो । आज एमाले र राप्रपा दुवै सरकारबाट बाहिरिएकाछन्, यो स्वभाविक हो । ’
अब आठ दलीय गठवन्धनले आ–आफनो पार्टीमा क्षमता र योग्यताको मुल्याङ्कनको आधारमा मन्त्री चयन गर्ने साउद बताउँछन् । मुलुक र जनताप्रति जिम्मेवार रहँदै राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई सन्तुुलनमा राखी काम गर्ने उनको भनाइ छ ।
राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको जित सुनिश्चित भएको बताउँदे नेता साउदले पौडेललाई समर्थन गर्न एमालेलाई आग्रह गरे । पौडेललाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्न सके राम्रो सन्देश जाने उनको भनाइ छ ।
एमाले नेपाली कांग्रेसको मुख्य प्रतिष्पर्धी दल भएकाले राजनीतिक गठवन्धन बनाउन कठिनाइ भएको हो । एमाले भन्दा नेकपा माओवादी केन्द्रसंग सहकार्य गर्न सहज हुने गरेको साउद बताउँछन् । उनका अनुसार केपी शर्मा ओली भन्दा प्रचण्ड ‘एकोमोडिभ’ भएकाले कांग्रेसलाई सहज हुने गरेको छ ।
विस्तृत भिडियोमा :