यू-१९ विश्वकप छनोट : नेपालविरूद्ध मलेसिया ७२ रनमा अलआउट

काठमाडौं । यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालविरूद्ध मलेसिया ७२ रनमै अलआउट भएको छ । युएईको मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ३५.३ ओभरमा ७२ रनमा अलआउट गरेको हो ।

मलेसियाका लागि अक्रम मालेकले २६ रन जोड्दा हाइरिल हरिसन र मोहमद साहिरले १२-१२ रन जोडे। मलेसियाका अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा नेपालका दिपेश कडेँलले ४ विकेट लिए। उनले १० ओभरमा ११ रन खर्चिए। आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहराले २ विकेट र सुवास भण्डारीले १ विकेट लिए। प्रतियोगितामा नेपालले लगातार तेस्रो खेलमा जित हात पारेको छ। सोमबार हङकङलाई ९ विकेटले हराएको पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २४३ रनले पराजित गरेको थियो।

नेपालले आफ्नो अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ। प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ।

नेपालले सन् २०१६ देखि यू १९ विश्वकपमा स्थान बनाउन सकेको छैन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१० विश्वकप गुमाएको थियो।
सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१