• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

घाेडाबाँधे सडक र कुश्मीशेरा-बरेङ सडकका विषयमा चित्रबहादुर केसीले गराए भाैतिक मन्त्रीकाे ध्यानाकर्षण

काठमाडाैं । मध्यपहाडी लाेकमार्ग अन्तर्गत घोडाबाँधेदेखि बाग्लुङ बजारसम्मको सडकका विषयमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल भएकाे छ ।

राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसी र अर्का नेता कृष्ण अधिकारीले उक्त सडक १० वर्षदेखि अलपत्र भएकाेबारे ध्यानाकर्षण गराएका हुन् ।

बजार खहरेदेखि घोडाबाँधेसम्मको जम्मा २५ कि.मि. बाटोको ठेक्का खहरे-बयलडाँडासम्म सिद्दि साई कन्स्ट्रेक्शनका टेकराज शाही र बयलडाँडादेखि घोडाबाँधेसम्म सूर्य कन्स्ट्रक्शनका रामकाजी श्रेष्ठले लिएका छन् ।

उनीहरुले लिएको ठेक्काको म्याद २०७४ मै सकिएको हो । तर अहिलेसम्म पनि उनीहरुले ठेक्का हडपेर बसेका छन् । सरासर काम गर्ने शर्तमा पुन: ३ वर्ष म्याद उनै ठेकेदारहरुलाई थमाए पनि उक्त म्याद पनि सकिसक्दा पनि याे बाटाे बन्न सकेकाे छैन ।

ठेकेदार टेकराज शाही भौतिक योजना तथा यातायत मन्त्रालयले खोजी गर्दा पनि सम्पर्कविहीन रहेकाे बताइएको छ । मन्त्रालयबाट ताकेता गर्दा मध्य पहाडी लोकमार्गका ईञ्जिनियर मिलन श्रेष्ठले काम अब नरोकिने बताएका छन् ।

त्यस्तै, कुश्मीसेरा-बरेङ-देवलधारासम्मको खण्डको पूर्वाधार विकास कार्यालयमार्फतको काम अगाडि नबढेको बारे, मालढुङ्गा-कुश्मिसेरा अन्तर्गतको दब्लिङको पहिरो समस्या, अर्जेवा पुल, डुडीयाघाट पुललगायतका समस्याका बारेमा पनि छलफल भएकाे कृष्ण अधिकारीले बताए ।