भारतबाट घटेर आएपनि इन्धनकाे मूल्य नघट्ने

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ ।

भारतबाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएपनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हाललाई इन्धनको मूल्य यथावत राख्ने निर्णय भएको छ ।

भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले बुधबार इन्धनको नयाँ सूची पठाएको छ । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य बढेको र डिजल तथा पेट्रोलको घटेर प्राप्त भएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ ।

निगमलाई मट्टीतेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१