कुनै पनि हालतमा प्रचण्डलाई कांग्रेसले धोका दिँदैन (भिडिओसहित )

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री गोविन्दबहादुर शाहले आठ दलीय गठवन्धन निर्माणसँगै मुलुक स्थायित्व, सुशासन र आर्थिक विकासको मार्गमा प्रवेश गरेको बताएका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेता शाहले अब चाँडै देशभर आठ दलीय गठबन्धनको सरकार बन्ने र यसले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनजिविकाकालाई मुद्दालाई प्राथमिकता दिने बताए ।

एमालेसँगको गठबन्धन राजनीतिक दुर्घटना भएकाले अब कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समझदारी कुनै पनि हालतमा नटुट्ने विश्वास व्यक्त गरे ।

एमालेलगायत अहिलेको गठबन्धन मन नपराउनेहरु विरोधमा उत्रिए पनि नयाँ गठबन्धनलाई जनताको साथ रहेको उनको भनाइ छ । कांग्रेस सभापति देउवा सबैलाई मिलाएर लैजान सिपालु भएकाले गठबन्धनमा कुनै आँच नआउने उनको विश्वास छ ।

राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको जित सुनिश्चित भएको यसले अहिलेको संविधान र गणतन्त्रलाई झन् टेवा मिल्ने शाहको बुझाइ छ । राष्ट्रपतिको चयनसँगै देशभर नयाँ सरकार बन्ने र यसका लागि दलहरुले योग्य, क्षमतावान, अनुभवी र इमान्दार नेताहरुलाई मन्त्रीमा सिफारिस गर्नुपर्ने उनको सुझाव छ ।

अहिले मुलुकमा व्यवस्था विरोधी गतिविधि भैरहेकोतर्फ सचेत गराउँदै उनले मुलुकलाई आर्थिक रुपमा टाट पल्टिनबाट जोगाउन नेताहरुले समयमै ध्यानदिनुपर्ने धारणा राखे । सामान्य भन्दा सामान्य व्यवसाय गरिरहेको मान्छेलाई पनि जोगाउने सरकारको कर्तव्य भएको र यो काम आउँदो सरकारले गर्ने उनी बताउँछन् ।

केही तत्वहरुले बैंकको ब्याज तिर्न पर्दैन भनेर जनता भड्काउने काम गरेको उनको आरोप छ । नियमसंगतरुपमा बैंकको ब्याज तिरेर बैंक र व्यवसायी दुवैलाई जोगाउन काम सरकारको हो । यसतर्फ आठ दलीय गठबन्धन सचेत रहेको उनी बताउँछन् ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१