टिकटकमा फिल्म लिक भएपछि कानुनी प्रक्रियामा जाने ‘छक्का पन्जा’ टिमको तयारी

काठमाडौं । फिल्म ‘छक्का पञ्जा ४’ सिनेमा हलहरुमा प्रदर्शन भैरहदा टिकटकमा फिल्मको क्लिपहरू छ्यापछ्याप्ती भेटिएका छन् । टिकटकमा १५ सेकेन्डदेखि ८ मिनेटसम्मका फिल्मको क्लिप अपलोड भइरहेको पाइएको छ ।

यसैक्रममा निर्माण टिमले कानुनी कारबाही गर्न तयारी गरेको छ ।  फिल्मका कलाकार तथा निर्माता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले उक्त जानकारी फेसबुकमार्फत दिएका छन् ।

‘सचेत रहनुहोला है कानुनी प्रक्रियाका लागि ओएसआर र अन्य व्यक्तिहरू साइबर प्रहरीमा जादैछन् भन्ने सूचना भर्खरै पाएँ । कृपया आफूले अपलोड गरेको फिल्मको भिडिओ डिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला,’ उनले लेखेका छन् ।

फिल्मले दुई दिनमा ३ करोडभन्दा बढी कमाइ गरेको छ । शुक्रबार १ करोडमाथि ओपनिङ गरेको फिल्मले दोस्रो दिन राम्रो व्यापार गरेको हो । फिल्मले राम्रो कमाइ गरेसँगै मल्टिप्लेक्स चेनमा शो थप गरिएको छ ।

हेमराज बिसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१