काठमाडाैं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।
आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाण्डाैमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका हुन् ।
उनले सबै माओवादीहरू एक ठाउँमा केन्द्रित हुने समय आएको बताए । आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने कुरा निकै अघि बढिसकेको बताए ।
उनले भने, ‘समय आएको छ । फेरि हामी माओवादीहरू सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपिल गर्दै आएको छु ।’
प्रधानमन्त्री प्रचण्डले आफू जनयुद्धका कमान्डरकाे हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा विभिन्न दबाब र घेराबन्दीविरुद्ध लडिरहेको पनि बताए ।
उनले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव र धर्मेन्द्र बास्तोलाहरू पनि विभिन्न घेराबन्दीविरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने बताए ।
आफूहरू एक हुनु नै शहीद र बेपत्ता योद्धाहरूप्रति इमानदार भएको ठहरिने उनको भनाइ छ ।