
काठमाडौं । विदेशीलाई हिँडडुलसमेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न नेपाल सरकार अग्रसर भएको भन्दै विभिन्न मिडियामा आएको समाचारको ‘मुस्ताङ साक्या बौद्ध संघ’ले खण्डन गरेको छ ।
मुस्ताङमा स्थापना भएको बौद्ध कलेजको भवन निर्माण कार्यका लागि भारतीय राजदूतावासबाट सहयोग रकम प्राप्त भएको विषयलाई लिएर प्रकाशित समाचार कपोकल्पित, भ्रामक र तथ्यहीन भएको ‘मुस्ताङ साक्या बौद्ध संघ’को भनाइ छ ।
विज्ञप्ति प्रकाशन गर्दै ‘मुस्ताङ साक्या बौद्ध संघ’ले औपचारिक र धार्मिक शिक्षा प्रदान गरेपश्चात् उच्च धार्मिक शिक्षा र बौद्ध दर्शन अध्ययन गर्न भिक्षु र भिक्षुणी काठमाडौं र भारतमा जान बाध्य भएको भन्दै मुस्ताङमै कलेज खोल्न लागिएको जनाएको छ ।
यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार यसै विषयमा दिएको अभिव्यक्तिको समेत ‘संघ’ले खण्डन गरेको छ । ओलीको टिप्पणीले जनमानसमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै विज्ञप्तिमा ध्यानाकर्षण भएको बताएको छ ।
ओलीले शनिबार स्थानीय तह कर्मचारी संघ, नेपालले एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा आयोजना गरेको कार्यक्रममा ‘उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको’ टिप्पणी गरेका थिए । ‘मुस्ताङमा विश्वविद्यालय (मुस्ताङ बौद्ध कलेज) भनेको विदेशीको दलाली र मित्रराष्ट्र चीनविरुद्धको गद्दारी भएको ओलीको टिप्पणी थियो ।
अहिले कलेजको भवन निर्माणस्थल वारागुङ मुक्तिक्षेत्र –५ फल्याक गाउँ नेपालको प्रतिबन्धित क्षेत्र नरहेको पनि संघले जनाएको छ ।
याे पनि पढ्नुहाेस् :
सरकार भारत खुशी पार्न र चीनविरुद्ध गद्दारी गर्न खाेजिरहेकाे छ : ओली
फल्याक गाउँ निषेधित र खम्पा विद्रोहीहरुको क्षेत्र हाेइन : वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष