• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सञ्चार मन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेट

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग भेट गरेका छन् ।

आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटमा दुई पक्षीय हीत र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदानप्रदानका विषयमा छलफल शर्माको सचिवालयले जनाएको छ।

भेटमा मन्त्री शर्माले दुई देशबीच सरकारी र जनस्तरमा रहेको सम्बन्धलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिए। मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनामा भइरहेको ढिलाइप्रति भारत सरकारको ध्यानाकर्षण गराइन् ।

भारतको एक्जिम बैंकको ऋण सहयोगमा निर्माणाधीन दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा भइरहको ढिलाइप्रति चासो व्यक्त गर्दै उनले यसलाई चाँडो सम्पन्न गर्ने सवालमा भारत सरकारको सहयोगको अपेक्षा गरेको राजदूतमार्फत ध्यानाकर्षण गराएकी थिइन् ।

भारतको तथ्य इञ्जिनियरिङ कन्सल्टेन्सीले निर्माण जिम्मा लिएको सो आयोजनामा आठ जना स्थानीय निर्माण व्यवसायी परिवर्तन भए पनि प्रगति हुन सकेको छैन ।