काठमाडौं । माओवादी घटकहरुले मंगलबार गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।
कार्यक्रम स्थगित हुनुको कारण भने खुलाइएको छैन ।
द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुको २६ फागुनमा बसेको बैठकले शान्ति प्रक्रियाका पक्षधरलगायतसँग ३० फागुनमा अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नै सर्वोच्चमा उजुरी परेपछि पूर्व माओवादी धारका नेताहरु झस्केका छन् ।
१ माघ २०७६ मा माघीकाे अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी नगरे पनि रिटलाई अग्राधिकार दिएको छ ।