• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिप्रति संसदमा विरोध

काठमाडौं । सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद बैठकमा विरोध जनाइएको छ ।

शुक्रबार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधिमण्डलसँग कुराकानी गरी उनले पत्रकारहरु बिक्रीमा रहेका अभिव्यक्ति दिएका थिए ।

आइतबारको संसद बैठकमा बोल्दै सांसदहरुले सो अभिव्यक्तिप्रति विरोध जनाएका हुन् ।

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताए । उनले सभामुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको भन्दै सभामुखको त्यसतर्फ ध्यानाकर्षण गराए ।

उनले भने, ‘सम्माननीय सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ। व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन? त्यतातिर पनि ध्यान जाओस् ।’

त्यसैगरी, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन– कुन हुन् भनेर पत्ता लगाउन सभामुखले छानबिन समिति बनाउनुपर्ने माग गरे।

उनले भने, ‘सभामुख महोदयको अर्को एउटा आएको छ, पत्रकारहरुको बारे। अब हुन त पत्रकारहरुको बारे यहाँले अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति नै बनाउनु पर्‍यो । तर सबै पत्रकार त्यस्तो नहोला । कुन–कुन हो ? पित पत्रकारिता चलाउने। त्यो चाहिँ हामीलाई सभामुख महोदयबाट एउटा छानबिन समिति हुनुपर्‍यो ।’