प्रतिपक्षी बेञ्चमा पुगेपछि आक्रामक एमाले, सरकारकाे कडा आलाेचना

काठमाडौं। संसदको दोस्रो ठुलो दल नेकपा एमाले संसदमा प्रमुख प्रतिपक्ष बेञ्चमा बसेसँगै सरकारसँग आक्रमक बनेको छ । आइतबारबाट प्रतिनिधि सभाको प्रतिपक्ष बेञ्चमा बसेलगत्तै एमाले सांसदहरुले सरकारको कडा आलोचना गरे ।

आइतबारको संसद बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बैठकमा उपस्थित भएर पनि विधेयकहरु सञ्चारमन्त्री रेखा शर्माले पेश गरेकोमा आपत्ति जनाए ।

प्रधानमन्त्रीबाट विधेयक प्रस्तुत गर्न सभामुखसँग रुलिङको माग गरे ।

उनले संसद चलेको लामो समयसम्म सांसदहरूले शून्य समयमा उठाएका महत्वपूर्ण विषयलाई सरकारले वेवास्ता गरेको आरोप समेत लगाए । ‘आज प्रधानमन्त्रीले शून्य समयमा उठेको विषयमा जवाफ दिन र विधेयक आफैँ प्रस्तुत गर्न रुलिङ होस्’, पन्तले भने ।

पन्तले चितवनमा धुर्मुस सुन्तलीले बेबारिसे बनाएर छाडेको क्रिकेट रंगशाला जिम्मा लिएर निर्माण गर्न आग्रह गरे।

बैठकमा एमालेका अर्का सांसद योगेश भट्टराईले स्ववियु निर्वाचनका क्रममा ताप्लेजुङको एकमात्र पाथिभरा क्याम्पसमा सरकारी पक्षले धाँधली गर्दै एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि आक्रमण र मतदान गर्नबाट वञ्चित गराएको बताए ।

‘अनेरास्ववियुका विद्यार्थीमाथि कुटपिट भएको छ, मतदानबाट वञ्चित गराइएको छ, निर्वाचन कमिटी विघटन गरेर एकतर्फी बनाइएको छ, फर्जी परिचयपत्र बनाएर गलत मानिसलाई समेत मतदानमा भाग लिन लगाइएको छ, क्याम्पस र बजार क्षेत्र तनावग्रस्त भएको छ’, उनले भने, ‘सत्ताको आडमा स्ववियु निर्वाचनमा धाँधली भएको छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१