• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

इजिप्टमा कुखुराको खुट्टासमेत खान सरकारको अपिल

काठमाडौं । अफ्रिकी मुलुक इजिप्टले पछिल्लो समय गहिरिंदो आर्थिक संकटको सामना गरिरहेको छ । अवस्था यति दर्दनाक हुँदैछ कि मानिसहरू आफ्नो परिवारको पेट पाल्नका लागि समेत संघर्ष गरिरहनु परेको छ । आर्थिक संकट झेलिरहेका जनताहरुका लागि इजिप्ट सरकारले हालै एउटा अनौठो अपिल गरेको छ ।

सरकारले जनताहरुलाई प्रायः फ्याँकिने कुखुराका खुट्टासमेत पकाएर खान अनुरोध गरेको छ । कुखुराको खुट्टा वास्तवमा उच्च प्रोटिनयुक्त भाग हो तर प्रायः मानिसहरू कुखुराको मासु तयार गर्दा खुट्टाको भाग फ्याँक्दछन् र कुकुर तथा बिरालोका लागि छुट्टाइन्छ । आर्थिक संकट तथा खाद्य संकटको सामना गरिरहेका जनतालाई कुखुराका खुट्टासमेत खान सरकारले अपिल गरेसँगै इजिप्टमा आम मानिसहरु सरकारप्रति आक्रोसित बनेका छन् ।

इजिप्टमा यो मार्च महिनामा मुद्रास्फीति ३० प्रतिशतले बढेको छ । यसअघि सामान्य रुपमा किनेर दैनिक रुपमा प्रयोग गरिने खानेतेल, चीज जस्ता खाद्य पदार्थहरुको मूल्य यतिधेरै बढेको छ कि धेरै मानिसका लागि त्यो किन्नै नसकिने लक्जरी वस्तुको रुपमा परिणत भएको छ । एक महिनाको बीचमै विभिन्न खाद्यवस्तुको मूल्य दोब्बरदेखि तेब्बरसम्मले बढेको छ ।

खाद्यवस्तुमा भएको चरम मूल्यवृद्धिको प्रमुख कारणचाहिं इजिप्ट खाद्यान्नमा आत्मनिर्भर नहुनु र अधिकांश खाद्यवस्तु आयात गर्नुपर्ने बाध्यता रहनु हो ।मानिसले खाने खाद्यान्न मात्र नभएर कुखुरालाई खुवाउने चारो पनि इजिप्टले बाह्य मुलुकहरुबाटै आयात गर्दछ ।गतवर्ष इजिप्सियन मुद्रा अमेरिकी डलरको तुलनामा आधाले अवमूल्यन भएको थयो । जसका कारण गत जनवरीमा त्यहाँको सरकारी आफ्नो मुद्रालाई पुनः अवमूल्यन गरेको थियो । जसका कारण अन्न लगायतका खाद्यान्नहरुको मूल्य तीव्र रुपमा बढेको हो ।

स्थानीयका अनुसार कुखुराको मासुको मूल्य यतिधेरै बढेको छ कि मध्यमवर्गीय मानिसहरुले समेत नियमित रुपमा कुखुराको मासु किन्न सक्ने अवस्था छैन । त्यहाँ कुखुराको मासुको मूल्य प्रतिकिलो इजिप्सियन डलर २ सय सम्म पुगेको छ ।

कुखुराको खुट्टा, हड्डी तथा कुखुराको नंग्रा सहितको पाइतालासमेत बिक्री हुन थालेको छ । कुखुराको नंग्रा सहितको पाइतालाको मूल्य प्रतिकिलो २० इजिप्सियन पाउण्ड पर्दछ । विश्वको दोस्रो ठूलो गहुँ आयातकर्ता मुलुकको रुपमा रहेको इजिप्टमा रुस युक्रेन युद्धपछि गहुँको मूल्यवृद्धि चरम विन्दुमा पुगेको हो । इजिप्टले युक्रेन र रुसबाटै गहुँ आयात गर्ने गरेको थियो ।

– बीबीसीबाट