• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

‘छक्कापञ्जा ४’ मा समावेश ‘सहकारी’ उल्लेख भएको संवादलाई ‘म्युट’ गरियो

काठमाडौं । हाल देशभर प्रदर्शन भइरहेको चलचित्र ‘छक्कापञ्जा ४’ मा समावेश ‘सहकारी’ उल्लेख भएको संवादलाई ‘म्युट’ गरिएको छ ।

नेपाल सहकारी महासंघको आग्रहलाई स्वीकार गरेर उक्त शब्दमा ‘बीप’ हालिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले जानकारी दिए ।

‘फिल्म रिलिजकै दिनदेखि सहकारी महासंघ र त्यससँग सम्बन्धित व्यक्तिहरुले त्यो शब्द नराखिदिन अनुरोध गर्नुभएको थियो । उहाँहरुको गाम्भीर्यलाई ध्यानमा राखेर सहकारी भन्ने शब्दलाई म्युट गरिएको हो’।

गत साता सहकारी महासंघले चलचित्र विकास बोर्डमा पत्र लेख्दै ‘छक्कापञ्जा ४’ को उक्त संवादप्रति ध्यानाकर्षण भएको जनाएको थियो भने सहकारी सञ्चालकहरुले निर्मातालाई त्यो शब्द हटाइदिन आग्रह गर्दै आएका थिए ।

उक्त बिषयमा पहिले (सिते बा)नामले चर्चित कलाकार मधुसुदन पाठकले सामाजिक सञ्जालबाट उक्त आग्रह गरेका थिए ।