
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखेका छन् । रूस-युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष राखेको मस्को टाइम्सले जनाएको छ ।
दुई साताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको चीन शान्ति प्रस्ताव लिएर मस्को पुगेको हो । रूसले युक्रेनमाथि हमला गरेपछि पश्चिमा शक्तिराष्ट्रहरूले रूसलाई एक्लो बनाइरहेको अवस्थामा सी त्यहाँ पुगेका हुन् । उनले रूसको तीन दिने भ्रमण गर्ने बताइएको छ ।
चीनको प्रस्तावपछि रूसका राष्ट्रपति भ्लादिमर पुटिनले सम्झौताका लागि आफू खुला रहेको बताएको मस्को टाइम्सले उल्लेख गरेकाे छ ।‘युद्ध अन्त्यका लागि सम्झौता गर्न रूस सधैँ खुला छ,’ पुटिनले समकक्षीलाई भनेको उद्दृत गर्दै मस्को टाइम्सले जनाएको छ ।
रूसले युक्रेनमाथि हमला गरेदेखि यता सी पहिलोपटक मस्को पुगेका हुन् । रूसको सरकारी सञ्चारमाध्यम रिया नोभोस्तीले सी र पुटिनबीच सोमबार चार घण्टा वार्ता भएको जनाएको छ । आफ्नो भ्रमण निकै फलदायी हुने सीले बताएका थिए ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनका बालकाबालिकालाई रूसले डिपोर्ट गरेको भन्दै राष्ट्रपति पुटिनविरूद्ध गिरफ्तारीको आदेश जारी गरेलगत्तै सी रूसमा पुगेका हुन् ।
पुटिनविरूद्ध गिरफ्तारको आदेश जारी गरेपछि बेइजिङले अदालतले राजनीतिकरण र दोहोरो मापदण्ड अपनाउन नहुने भन्दै विरोध जनाएको थियो ।