
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरद्वारा अभिनीत एक विज्ञापन पछिल्लो समय व्यापक चर्चा भइरहेको छ ।
गत सोमबार करिश्माले सोलार हिटरसम्बन्धी एक विज्ञापन फेसबुकमा सेयर गरेकी थिइन् । एक मिनेट १७ सेकेण्ड लामो उक्त विज्ञापनमा करिश्माको अभिनय र संवादलाई लिएर विरोध भइरहेको हो ।
कतिपयले उक्त विज्ञापनमा करिश्मालाई नसुहाउने भन्दै क्राफ्टमाथि प्रश्न तेर्साएका छन् । धेरैले नानाथरी टीकाटिप्पणी गरेपछि यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण दिएकी छिन् ।
उनले कलाकारको नाताले आफ्ना दर्शकलाई झुक्काउने मनसाय कहिल्यै नरहेको पनि बताइन् ।
उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छिन्, ‘त्रुटी मानिसबाटै हुने हो, यसको प्रचार काममा मेरो उपस्थिति रहने भए पनि प्रचार निर्माण सामग्रीमा मेरो हात हुँदैन । ’
यस्तै उनले थपेकी छिन्, ‘सुझावसम्म दिन सकिन्छ, जुन निर्माण पक्षले लिन पनि सक्नुहुन्छ, नलिन पनि सक्नुहुन्छ । मेरो काम भनेको भने अनुसार गर्ने हो ।’
उक्त विज्ञापनको सुधार हुने पनि उनले बताइन् । उनले दर्शकको प्रतिक्रियालाई असाध्यै सकारात्मक रूपमा लिएको र आफ्ना हरेक क्रियाकलापलाई चासोका साथ हेरेर सुधार्ने मौका दिनुभएको भन्दै आभार व्यक्त गरेकी छिन् ।
उनले अन्तिममा लेखेकी छिन्, ‘कहिलेकाहीँ हाँस्नु पनि पर्छ ।’