प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आइतबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने उल्लेख छ । अघिल्लो बैठकमा यस सम्बन्धी विधेयक प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेकी थिइन् ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट नै संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

साथै सभामुख देवराज घिमिरेले पूर्वसभासद गणेशप्रसाद विमलीको निधनको शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि पनि छ । २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यको रुपमा निर्वाचित भएका विमलीको ७४ वर्षको उमेरमा २०७९ चैत ७ गते निधन भएको थियो ।

यसैबीच, आइतबार नै दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । बैठकमा डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पेस गर्ने कार्यसूचि छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१