झण्डै ठाेक्किएकाे नेपाल एअरलाइन्स र एअर इन्डियाको जहाज, एअर ट्राफिक कन्ट्राेलर कारबाहीमा

काठमाडाैं । चैत १० गते नेपाल एअरलाइन्स र एअर इन्डियाको जहाज ठूलो दुर्घटना हुने अवस्थाबाट टरेकाे थियाे । यही विषयमा नागरिक उड्डयन प्राधिकरणले एअर कन्ट्रोलरका दुई कर्मचारीलाई कारबाही गरेको छ ।

प्राधिकरणले उक्त समय कन्ट्रोल रूममा रहेका दुई अधिकारीलाई तत्कालको लागि निष्क्रिय रहन निर्देशन दिएको हो । ती कर्मचारीहरूको नाम खुलाइएको छैन ।

चैत १० गते शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किएका थिए ।

१९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किने अवस्था आएको थियो । नेपाल एयरलाइन्सको जहाज पनि ७ हजार फिट तल ओर्लिएपछि सम्भावित ठूलो दुर्घटना टरेको थियो ।

नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटको उचाइमा होल्ड गरिरहेको बेला एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिट तल आएको थियो ।