बालेन शाहलाई प्रचण्डकाे जवाफ : याे सरकार पाँच वर्षसम्मै टिक्छ

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच बर्षसम्म टिक्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने भन्दै सरकार फेरिने चिन्ता नगर्न आग्रह गरे ।

त्यसअघि काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले केन्द्रको सरकार पाँच बर्ष नटिक्दा स्थानीय तहले समन्वय गर्न समस्या हुने गरेको बताएका थिए । उनले महानगर सभ्यता जोगाउन र सार्वजनिक सम्पति जोगाउन लागिपरेको भन्दै यसमा केन्द्र सरकारले साथ दिनुपर्ने जिकीर गरे ।

प्रधानमन्त्री प्रचण्डले संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकारको व्यवस्थित बाँडफाँट गरेको भन्दै यसको ठीक ढंगले प्रयोग र अभ्यास गर्न सकेमा नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने उल्लेख गरे ।

संविधानले व्यवस्था गरेअनुरूप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको सही विन्यास गर्न संघीय कानुनहरू यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व गरेकाले वर्तमान सरकार संघीय शिक्षा ऐन, संघीय निजामती ऐन लगायत महत्वपूर्ण ऐनहरू निर्माण गर्न सक्रियताका साथ लागिरहेको उनले बताए ।

उनले स्थानीय तहको सेवाप्रवाहरुलाई चुस्त र जनउत्तरदायी बनाउदै नागरिकको आत्मीयता र अपनत्वबोधका निम्ति गम्भीर भूमिका खेल्नुपर्ने बताए । सरकारले जारी गरेका १६ ऐनहरूमा न्यायिक समितिको भूमिकाबारे व्यवस्था गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसका माध्यमबाट न्याय निरूपणमा ध्यान दिनुपर्ने धारणा राखे ।

बिहीबारसम्म चल्ने सम्मेलनमा सवै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य मध्येबाट एक–एक जना गरि ४ सय ५० पालिकाबाट सहभागीता रहेको छ । विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्दै सम्मेलन समापन हुने महानगरकी उपप्रमुख सुनिता डंगाेलले बताइन् ।