काठमाडाैं । भारत र चीनबीच लामो समयदेखि सीमा विवाद द्वन्द्वको मुख्य कारक बनेको छ ।
सन् २०२० को जुन १५ मा चीन र भारत दुवैले दाबी गर्दै आएको गलवान उपत्यकामा गस्तीका क्रममा दुवै देशका सेनाबीच हिंस्रक झडप भएको थियो ।
भाला, फलामे काँडासहितको रड तथा ढुंगा हाहाहान हुँदा २० भारतीय सेना र ५ चिनियाँ सेनाको मृत्यु भएको थियो ।
त्यो घटनापछि भारत र चीनबीच कैयौँपटक सीमा क्षेत्रको विवाद अन्त्य गर्ने हिसाबले वार्ता भइसकेको छ । यद्यपि वार्ताको निष्कर्ष निस्किएको छैन ।
दुई देशका सेनाबीच हिंस्रक झडप भएको तीन वर्षपछि यतिबेला पुनः भारत र चीनबीच सीमा विवाद चर्किने देखिएको छ ।
द हिन्दुका अनुसार चीनले भारतको अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गरिदिएको छ । भारतीय क्षेत्रलाई चिनियाँ नाम दिइएको पत्रिकाले उल्लेख गरेको छ ।
चीनले नाम परिवर्तन गरेका ठाउँहरूमा मानिसहरू बसोबास गरिरहेका गाउँ, हिमाल तथा नदी पर्छन् । अरुणाचल प्रदेशको राजधानी इटानगर नजिकैको क्षेत्रको नाम पनि परिवर्तन गरिएको जनाइएको छ ।
६ वर्षको अन्तरालमा चीनले अरुणाचल प्रदेशका क्षेत्रहरुको नाम तीनपटक परिवर्तन गरिसकेको अवस्था छ ।
चीनले भारतको अरुणाचल प्रदेशको ९० हजार बर्ग किलोमिटर जमिनलाई आफ्नो भू–भागको रूपमा दाबी गर्छ र सो क्षेत्रलाई आफ्नो जंगनान प्रान्त भन्छ । यो प्रान्तलाई चीनले दक्षिणी तिब्बतको क्षेत्र पनि भन्ने गरेको छ ।
भारतले भने आफ्नो प्रदेशका स्थानहरूको नाम परिवर्तन गर्दैमा त्यो भू–भाग चीनको बन्न नसक्ने बताएकाे छ ।