अडिओ प्रकरणबीच रास्वपा सांसदले भेटे प्रधानमन्त्री प्रचण्ड !

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको प्रकरणले राजनीतिक वृत्त तातिरहेका बेला अर्का एक सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठ दुई करोड प्रकरणमा मुछिएका बेला समानुपातिक सांसद गणेश पराजुलीले सोमबार सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

तर यो भेटघाटबारेमा अहिलेसम्म दुवै पक्षले विस्तृत कुरा खुलाएका छैनन् । यो भेटमा अडियो प्रकरणबारे पनि छलफल भएको हुन सक्ने स्रोतको दाबी छ ।

खोटाङ घर भएका सांसद पराजुली मंसिर ४ को निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका हुन् ।

दुई करोड मागेको प्रकरणमा मुछिएपछि अर्का समानुपातिक सांसद श्रेष्ठलाई रास्वपाले निलम्बन गरिएको जनाएको छ । तर उनलाई औपचारिक रुपमा निलम्बनको जानकारी संसद सचिवालयले अझैसम्म दिएको छैन ।