
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले पैसा नलिएको दाबी गरेका छन् । उनले आफ्ना पार्टी सभापतिकाे बचाउ पनि गरे ।
सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासामा सांसद झाले पार्टी सभापति रवि लामिछानेले मन्त्री बनाउन रकम असुली नगरेको बताए ।
उनले पार्टी नेतृत्वले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाउनका लागि साढे दुई करोड मागेको भन्ने कुरा पनि सत्य नभएको दाबी गरे । बरु यस्ता आरोप लगाउने पार्टीभित्र भने त्यस्तो हुने गरेको प्रमाण आफूहरूसँग रहेको दाबी गरे ।
उनले भने, ‘स्टाटस लेखेर चुनावका बेलामा स्टन्ट गर्ने हो भने कति दाइ–भाउजूले के–के लिए भन्ने कुरा त हामीलाई पनि थाहा छ नि ! हामीले प्रमाण पेस गरेपछि कारबाही गर्छ त्यो दलले ? म चुनौती दिन चाहन्छु, कति पटक हामीले सुनेका छौँ नि ! कहिल्यै यस्तो अभिव्यक्ति र निलम्बन गरेको छ त्यो दलले, त्यो पार्टीहरूले । सुनेर पनि ढाकछोप गर्न खोजेको होइन र ?’
उनले अहिले सार्वजनिक अडियो प्रकरण नेपाली राजनीतिमा नयाँ नभएको पनि बताए । सांसद झाले निलम्वित सांसद श्रेष्ठलाई जोगाएर आफूहरूले मतदाताको मतमाथि विश्वासघात नगर्ने पनि बताए ।
हेर्नुहाेस् भिडिओ :