
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा.तोसिमा कार्कीले देशब्यापी रुपमा बन्दै गरेका वा निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजी गर्न माग गरेकी छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यसका लागि संसदीय छानबिनको समेत माग राखेकी छन् ।
केही दिन अगाडि ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्ट आसपासमा घरहरू भासिएका थिए । त्यसको कारण बिना नक्सा पास, बिना इआइए एनलाइसिस काम गर्नु रहेको उनको दाबी छ ।
विगतमा पनि संसदमा यो विषयमा कुरा उठेको र वैधानिक प्रक्रिया अगाडि नबढेकोको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनिन् ‘म आग्रह गर्न चाहन्छु-यसरी नै देशव्यापी रुपमा बन्दै गरेका निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपाटमेन्टहरुको वैधानिकता खोजी गरियोस् ।’
उनले क्षति हुन सक्ने घरहरुको आजैबाट संरक्षण गर्न आग्रह पनि गरिन् । उनले भनिन्, ‘सभामुख मार्फत निर्देशन दिइयोस् । संसदीय समिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाइयोस् । दोषीलाई कारबाही, क्षेति भएका पीडितलाई क्षतिपूर्ति र क्षति हुन सक्ने घरहरुको आजैबाट संरक्षण गरियोस् ।’