प्रतिनिधिसभामा पुगेन गणपूरक संख्या, अर्काे बैठक वैशाख तीनमा

काठमाडौं । प्रतिनिधिसभामा सांसदको गणपूरक संख्या नपुग्दा बुधबारको बैठक स्थगित भएको छ ।

सुरक्षण मुद्रणसम्बन्धी विधेयकमाथि सामान्य छलफल सकेर विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्न खोज्दा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

बुधबार उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुअघि नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकीन गर्न माग गरे ।

सभामुख देवराज घिमिरेको निर्देशनमा संसद सचिवालयले गणपूरक संख्या यकीन गर्दा जम्मा ६१ जनामात्र उपस्थित रहेको पाइएको छ ।

संविधानतः संसदमा कुनै प्रस्ताव पारित हुन कुल सदस्य संख्याको एक चौथाइ सदस्य संख्या आवश्यक पर्छ । प्रतिनिधिसभामा कुल सदस्य संख्या २७५ रहेकाले कुनै प्रस्ताव पारित गर्न ६९ जना सांसद उपस्थित भएको हुनुपर्छ ।

अब अर्को बैठक वैशाख ३ गते बस्नेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१