प्रकाश सपुतको गीत ‘सकम्बरी’ को चर्चासँगै आलोचना सुरु

काठमाडौं । गायक प्रकाश सपुतले केही दिन अगाडि सार्वजनिक गरेको ‘सकम्बरी’ गीत प्रतिदिन चर्चाको शिखर चढ्दो छ । तीन दिन अगाडि सार्वजनिक गीतले केही दिनदेखि युट्युबको ट्रेन्डिङमा समेत कब्जा जमाएको छ ।

गीतको भिडियोले रेस्टुरेन्टमा काम गर्न पुगेकी एउटा निर्दोष केटीलाई कसरी मानिसहरूले नचाहँदा नचाहँदै गलत बाटोमा पुर्यदिन्छन् भन्ने देखाइएको छ ।

भिडियोको प्रशंसासँगै आलोचना पनि सुरु भएको छ । गीतले महिलाको भावनामाथि खेलबाड गरेको आरोप लगाइएको छ । कतिपयले प्रकाशले गीतमार्फत महिलाको आँसु र भावना बेचेको आरोप लगाएका छन् । वकिल तथा लेखक दुर्गा कार्कीले आफूले प्रकाश सपुतको गीत पुरै हेर्न नसकेको भन्दै आलोचना गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो दिक्दारी गीतलाई पस्कन सपुतले प्रयोग गरेको कमजोर रुने प्रवृत्ति हो ।’

त्यस्तै सुस्मा सिग्देलले आफूलाई समाजको जिम्मेवार कलाकार मान्ने प्रकाश सपुतले गीतबाट आफ्नै क्षेत्रका छोरी मान्छेहरूलाई बदनाम गराएको आरोप लगाएकी छन् । गीत कला क्षेत्रमा आफूलाई उभ्याउन सङ्घर्ष गरिरहेका छोरी चेली प्रहार भएको उनको भनाइ रहेको छ ।

गायक प्रकाश सपुतको गीत आलोचनामा परेको यो पहिलो होइन । यस अगाडि पनि उनले सार्वजनिक गरेको ‘पीर’ बोलको गीत आलोचनामा परेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१