
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँमा सीसीटीभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौंमा दिनदहाडै हत्या हुनेक्रम बढ्दै गइरहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सीसीटीभी जडान गर्नुपर्ने बताएका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले बुढानीलकण्ठ नगरपालिकाको कपनस्थित सरस्वतीनगरमा एक महिलाको दिनहदाडै हत्या भएको ७ दिन बित्दालाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न नसकेकोमा आक्रोशसमेत व्यक्त गरे ।
उनले भने, ‘छुरी प्रहार गरेर हत्या भएको ७ दिन भयो । पीडित परिवार प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनुभएको छ । तर उहाँहरुले ठोस जवाफ पाउनुभएको छैन । आज संयोगले माननीय गृहमन्त्रीज्यू संसद्मा उपस्थित हुनुहुन्छ । म आग्रह गर्न चाहन्छु, सम्माननीय सभामुख महोदयमार्फत घटनाको सत्यतथ्य र सबभन्दा ठूलो कुरा दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँका नागरिकहरुले जुन विश्वास गर्न नसक्ने अवस्था बनेको छ । यसको बारेमा विश्वास गर्ने स्थिति माननीय गृहमन्त्रीज्यूले बनाई दिनुहोस् ।’
‘महानगरपालिका, संघीय सरकार मिलेर सिंगो काठमाडौंलाई यसको सेक्युरिटीसँग जोडेर सीसीटिभी जोडेको भए यो घटनाको तथ्य पत्ता लगाई सकेको हुन्थ्यो,’ उनले भने, ‘सो घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याई दोषीमाथि कडा कारबाही गर्न पनि माग गर्दछु ।’