
काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितले अघि सारेका मागका विषयमा सरकारसँग छलफल गर्ने बताएका छन् ।
सोमबार काठमाडौंको शान्तिवाटिकामा मिटरब्याजी पीडितसँग कुराकानी गर्दै भट्टराईले उनीहरुले अघि सारेका मागहरु जायज भएकाले यस विषयमा सरकारसँग छलफल गर्ने बताएका हुन् ।
बाध्यतामा परि ऋण लिएका किसानहरुको घरखेत नै बेच्नुपर्ने गरि सुदखोरले असुली गर्ने काम सदाका लागि बन्द हुनुपर्ने उनले बताए ।
भट्टराइले मिटरब्याजी सम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यदेशलाई बलियो बनाउनुपर्ने मिटरब्याजी पीडितको माग जायज भएको धारणा राखे ।
जाली तमसुकका कारण मुद्धा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरु स्थगीत गराउदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने बिषयमा सरकारसँग कुरा गर्ने उनले बताए ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राख्दै आएको छ ।
चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।
यसअघि सरकारसँग भएको वार्ता असफल भएपछि मिटरब्याजी पीडित शान्तिबाटीकामा बस्दै आएका छन् ।