प्रचण्डले दम्भ देखाए गठबन्धन ताेडिने माधव नेपालकाे चेतावनी

सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन् ।

आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने उनको चेतावनी थियो । नेपालले भने -‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ ‌। यसले गठबन्धन धरापमा पार्न सक्छ ।’

अध्यक्ष नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताए । समाज समृद्ध भए मात्र जनता खुसी हुने बताउँदै उनले आफ्नो पार्टी समृद्धिको अभियानमा रहेको बताए ।

अप्ठ्यारो बेलाको र पार्टीभित्रबाट चुनौती आउँदा पनि आफूले निकै काम गरेको भए पनि त्यसको चर्चा नभएको नेपालको दुखेसो थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१