काठमाडौं । फ्रेञ्च क्लब पिएसजीले आफ्ना फरवार्ड लिओनल मेसीलाई दुई साताका लागि निलम्बन गरेको छ ।
अर्जेन्टिनाका कप्तान मेसीलाई क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेको भन्दै दुई साताका लागि निलम्बन गरिएको हो ।
निलम्बन अवधिमा मेसीले पिएसजीसँग प्रशिक्षण समेत गर्ने छैनन् ।
३५ वर्षीय मेसीले व्यावसायिक कामका लागि यात्रा गर्न अनुमति मागेको तर क्लबले अस्वीकार गरिएको बुझिएको छ ।
साउदी भ्रमणका दौरान मेसीले साउदी अरबका लागि पर्यटन राजदूतको भूमिका गरेका थिए ।
विश्वकप विजेता मेसीको पिएसजीसँगको दुई वर्षको सम्झौता यसै सिजन सकिँदैछ ।
यसअघि स्पेनिस क्लब बार्सिलोनाका उपाध्यक्ष राफेल युस्टेले गत मार्चमा क्लबमा फर्कने विषयमा आफ्ना पूर्व फरवार्ड मेसी सम्पर्कमा रहेको दाबी गरेका थिए ।
मेसीले पिएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ असिस्ट गरेका छन् । उनले गत सिजन लिग वानको उपाधि जितेका थिए ।
निलम्बनसँगै मेसीले अब लिग वानका दुई खेल गुमाउनेछन् ।