काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंश नै सकिने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको छानबिन हुनुपर्ने बताएका छन् ।
बिहीबार बसेको संसद बैठकमा आमजनता पार्टीका सांसद प्रभु साहले २०६३ साल चैत्र ७ गते २७ जना माओवादी कार्यकर्ताको ज्यान जाने गरी भएको गौर हत्याकाण्डबारे उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘विगतमा ठूला हत्याकाण्ड सबैको छानबिन हुनुपर्छ । गैरन्यायिक हत्यामा सरकार चुप बस्न सक्दैन । गौर हत्याकाण्डको छानबिन गरेर दोषीलाई कारबाही गर्ने पक्षमा म छु’, उनले भने, ‘अब गौरमात्रै होइन, दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्छ । दरबारभित्र भएको उक्त गम्भीर हत्यकाण्डको पनि छानबिन गरेर कारबाही हुनुपर्छ ।’
उनले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको ज्यान जाने गरी चितवनको दासढुंगामा भएको घटनाको पनि छानबिन हुनुपर्ने बताएका छन् । ‘मदन-आश्रितको घटनाको पनि छानबिन हुनुपर्छ’, उनले भने, ‘ठूला हत्याकाण्डबारे छानबिन गर्न म तयार छु ।’