
काठमाडाैं । श्रद्धाञ्जली अर्पणका लागि गायक तथा कलाकार जयनन्द लामाको शव बिहीबार राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ ।
कलाकार दिपाश्री निरौलाले फेसबुकमार्फत् श्रद्धाञ्जली अर्पण गर्न लामाको शवलाई राष्ट्रिय नाचघर जमल राखिने जानकारी दिएकी हुन् ।
बिहान १० बजेदेखि श्रद्धाञ्जली दिइने उनले बताएकी छन् ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए ।
प्रहरीका अनुसार लामा आफ्नै गाडीमा अल्झिएर लड्दा मृत्यु भएको हो ।
यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गायक लामाको निधनप्रति दु:ख व्यक्त गरेका थिए ।