
काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सरकारी वकिलको कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।
प्रहरीको यो प्रकरणको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेकाे छ ।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेत पक्राउ परेका छन् । यस्तै कांग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा समेत पक्राउ परेका छन् ।
यो प्रकरणमा सबैभन्दा पहिला २०७९ चैत १२ मा केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारी पक्राउ परेका थिए । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए ।
यस्तै, पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् ।