काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् ।
१६ औँ गणतन्त्र दिवसका अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका हुन् ।
उनले संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम र वितृष्णा छर्ने प्रयास कदापि सफल नहुने बताए ।
प्रधानमन्त्री प्रचण्डले मुलुकमा सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन सबैमा अपिल गरे ।
उनले महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र जनताको समान एवं अविचलित धारणा हुन सकेमात्र मुलुकलाई अघि बढाउँदै राष्ट्रिय एकताको जगलाई बलियो बनाउन सकिने धारणा राखे ।
उनले संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्था अभिष्ट पूरा गर्नतर्फ केन्द्रित हुनुपर्नेमा जाेड दिए ।
प्रधानमन्त्री प्रचण्डले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिटै अतिकम विकसित राष्ट्रबाट विकासशिल र विकसित राष्ट्रमा रुपान्तरण गर्न सरकारको ध्यान केन्द्रीत रहेको उल्लेख गरे ।